कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न



कपिलवस्तु, असोज ३१
कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व वनमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले वन संरक्षण र दिगो व्यवस्थापन राज्यको मात्र नभई स्थानीय समुदायको पनि साझा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सामुदायिक र साझेदारी वनले रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र स्थानीय विकासमा पुर्याएको योगदान उल्लेखनीय रहेको भन्दै यसको प्रभावकारिता बढाउन सुझाव दिनुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले साझेदारी वनहरूले नागरिकलाई स्वरोजगार र आम्दानीमुखी कार्यक्रमसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले बेसार, केरा लगायतका नगदे बाली तथा वनजन्य उत्पादनसँग सम्बन्धित परियोजना सञ्चालन गर्न सके नगरपालिकाले पनि सहकार्य र साझेदारी गर्न तयार रहेको जानकारी दिनुभयो । साथै, नगरमा आएको वनसम्बन्धी बजेट कानुनी अड्चनका कारण पूर्ण रूपमा प्रयोग गर्न नसकिएको बताउँदै यस विषयमा सरोकारवालाबीच अन्तरक्रिया र नीति सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष एवम् साझेदारी वनका सदस्य टेकलाल सापकोटाले वन तथा वन्यजन्तु संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चोरी निकासी नियन्त्रण र काठको वितरणमा पारदर्शिता आवश्यक रहेको बताउँदै वन उपभोक्ता समूहहरूको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले आगामी वर्षका कार्ययोजना प्रस्तुत गर्दै समूह जिल्ला कै दोस्रो ठूलो साझेदारी वन भए पनि हाल घाटामा रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशमा वन मन्त्रालय रहे पनि यसको प्रभाव जनस्तरसम्म नपुगेको गुनासो गर्दै, मन्त्रालयले स्थानीय तह र साझेदारी वनसँग प्रत्यक्ष सहकार्यमा जोड दिनुपर्ने माग गर्नुभयो ।

सभामा सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साधारणसभाले नयाँ वर्षका लागि वन संरक्षण, आयमूलक कार्यक्रम र उपभोक्ताको क्षमता विकासमा केन्द्रित योजना अघि बढाउने निर्णय गरेको छ ।कार्यक्रमको सञ्चालन कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका कार्यालय प्रमुख पहलमान शेरबुजा मगरले गर्नुभएको थियो

