जनकपुरलाई सुदूरपश्चिमले दियो १२४ को टार्गेट,कसले कति बनायो?

सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सलाई १ सय २४ रनको मात्र लक्ष्य दिएको छ । शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सक्यो ।

सैफ जैब र भेट्रान विनोद भण्डारीले पहिलो विकेटमा ८ ओभर भित्र ५५ रन जोडे पनि सुदूरपश्चिमले त्यसको फाइदा उठाउन सकेन् । हर्ष ठाकरले इंग्लिस ब्याटर जैबलाई २१ रनमा आउट गरेसँगै सुदूरपश्चिमको रनमा अंकुश लाग्नुका साथै विकेट पतन पनि सुरु भएको थियो । जैबले २१ बल खेलि ३ चौका प्रहार गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका हरमित सिंहलाई शेर मल्लले १ रनमा आउट गरे । विनोद पनि शेरकै सिकार भए । विनोदले सुदूरपश्चिमबाट सर्वाधिक ३३ रन बनाए । उनले ३७ बल खेलि ३ चौका र १ छक्का प्रहार गरे । अरनिको यादवले कप्तान दीपेन्द्रसिंह ऐरीलाई शुन्य र ब्रान्डन म्याकमुलेनलाई ११ रनमा आउट गरेपछि सुदूरपश्चिम झनै दबाबमा परेको थियो ।

तीब्र बलर किशोर महताले एकै ओभरमा आरिफ शेख (६), इशान पाण्डे (१७) र स्कट कुग्लेन (७) लाई आउट गरेपछि जनकपुर खेलमा हावी भएको थियो । किशोरले ४ ओभरमा ३५ रन खर्चेर विकेट लिए । शेरले ४ ओभरमा १९ र अरनिकोले ३ ओभरमा १६ रन खर्चेर २–२ विकेट लिए ।

जनकपुर पहिलो चार खेल जितेर शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ । पहिलो तीन खेल जितेको सुदूरपश्चिम पछिल्लो खेलमा चितवन राइनोजसँग पराजित भए पनि अंक तालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिमसहित चितवन र कर्णाली याक्सको समान ६ अंक छ । नेट रन रेटका आधारमा सुदूरपश्चिम अगाडि छ ।

सुदूरपश्चिमले दिलप्रित बज्वाको स्थानमा हरमितलाई खेलाएको हो । दुई दिन काठमाडौं आएका देब्रेहाते स्पिन अमेरिकी अलराउन्डर हरमितको एनपीएलमा यो पहिलो खेल हो । जनकपुरले मोहम्मद मोहिसनको स्थानमा जोसुआ ट्रम्प र हेमन्त धामीको स्थानमा अरनिकोलाई खेलाएको छ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *