बढ्दो लयमा सेयर बजार, ३ महिनामा ३ खर्ब ४२ अर्बले बढ्यो पुँजी
६ कात्तिक, काठमाडौं । सेयर बजारको पुँजीकरण पछिल्लो समय वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तमा सेयर बजारको पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०७७ असार मसान्तमा सेयर बजारको बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड थियो । यो बढेर भदौ मसान्तमा २० खर्ब ४९ अर्ब २८ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।
त्यसपछि पनि सेयर बजारको पुँजीकरण निरन्तर बढीरहेको छ । ५ कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने सेयर बजारको पुँजीकरण २१ खर्ब ३४ अर्ब ४३ करोड रुपैयाँभन्दा माथि छ । अर्थात् पछिल्लो तीन महिनामा ३ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा धेरैले सेयर बजारको पुँजीकरण वृद्धि भएको छ ।
सेयर बजार पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकसमेत वृद्धि हुँदै गएको छ । तीन महिनाको अवधीमा नेप्से परिसूचक राम्रै सुधार भएको छ । २०७६ भदौ मसान्तमा ११५०.७ रहेको नेप्से सूचकांक २०७७ भदौ मसान्तमा १५४१.४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३६२.४ थियो ।
बैंकको हिस्सामात्रै ७५ प्रतिशत २०७७ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१० रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत्त कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७५.८ प्रतिशत रहेको छ ।
त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ भदौसम्ममा सूचीकृत ४ अर्ब ८७ करोड शेयरको चुक्ता मूल्य रु.४७७ अर्ब ७९ करोड रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा रु. १ खर्ब बराबरको विकास ऋणपत्र, रु. ४ अर्ब ४५ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब ८७ करोड बराबरको बोनस शेयर, रु.२ अर्ब बराबरको डिबेन्चर, ७० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युअचल फण्ड गरी कुल रु.१ खर्ब ११ अर्ब ६७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ९३ करोड ८६ लाख बराबरको साधारण शेयर र रु. ३६ करोड ४० लाख बराबरको हकप्रद शेयर गरी कुल रु.१ अर्ब ३० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।