लहान अस्पतालमा औषधी अभाव: स्वास्थ्य मन्त्री मौन, जनताको जीवन संकटमा


लहान, साउन १६ । लहान अस्पतालमा औषधीको चरम अभावका कारण सर्वसाधारण नागरिक उपचार नपाएर हैरान भइरहेका छन्। नेपाल सरकारले वितरण गर्नुपर्ने निःशुल्क औषधीहरूको आपूर्ति ठप्प हुँदा दैनिकजसो सुत्केरी, वृद्धवृद्धा, किसान, मजदुरजस्ता गरिब वर्गका बिरामीहरू उपचारको आशमा अस्पताल आएर खाली हात फर्कन बाध्य छन्।

यो अवस्था केवल औषधी संकट मात्र नभई राज्यको संवेदनहीनता र जनताप्रतिको बेवास्ताको ज्वलन्त उदाहरण बनेको छ। अस्पतालमा पेन किलरदेखि एन्टिबायोटिक, ग्यास्ट्रिक औषधीदेखि झोल दिने सलाइनसम्म अभाव देखिएको स्थानीय बिरामीहरू बताउँछन्। “हामीलाई उपचारभन्दा पहिले मेडिकल जानू पर्छ, त्यहाँ पनि औषधी महँगो छ,” एक वृद्ध बिरामीले भने।

सबैभन्दा चर्को प्रश्न भने प्रदेश सरकारका स्वास्थ्य मन्त्रीको मौनतामा उठेको छ। जनताको करबाट सुविधाभोग गरिरहेका मन्त्री जनताको चिच्याहट नसुन्ने हो भने कुर्सीमा बस्ने नैतिकता के रहन्छ? कतै मन्त्रीको परिवार बिरामी परे पनि लहान अस्पतालमा आउने हुन् त? भन्ने प्रश्न जनतामाझ उठ्न थालेको छ।

स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन, फार्मेसी माफिया र जनप्रतिनिधिहरूबीचको मिलेमतोका कारण औषधीको आपूर्ति प्रक्रिया लथालिंग भएको नागरिकको आरोप छ। अस्पताल प्रशासनले औपचारिकरूपमा कुनै जानकारी दिन चाहेन, तर एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा भने, “बजेट नपुगेको, टेन्डर प्रक्रिया ढिलो भएको र प्रदेशबाटै दबाब आउने जस्ता समस्याले औषधी आपूर्ति प्रभावित भएको हो।”

लहान नगरका बासिन्दा र सामाजिक अभियन्ताहरू आक्रोशित छन्। उनीहरूले अस्पताल अगाडि प्रदर्शनको चेतावनी दिएका छन्। “अब चुप लागेर बसिन्न, औषधी बिना जनतालाई मर्न दिन्नौं,” एक स्थानीय युवा अभियन्ताले भने। प्रदेशका स्वास्थ्य मन्त्रीको तत्काल राजीनामा माग। औषधी आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई चेतावनी।अस्पतालको औषधी आपूर्ति र वितरण प्रक्रियामा छानबिन र दोषीमाथि कारबाही। यो संकट समाधान नगरे सरकार जनताको आक्रोशको सामना गर्न तयार रहनुपर्ने अवस्था सिर्जना भएको छ। जनताको जीवनमाथि खेलवाडको मूल्य चुकाउनु पर्नेछ!