लहान–२१ कालाबञ्जरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३८ जनाले लिए सेवा

तराई फिलिक्स चैत्र २४ गते आइतबार 

लहान, सिरहा — लायन्स क्लव अफ लहान फुलबारीको आयोजनामा लहान नगरपालिका–२१ स्थित कालाबञ्जरमा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय वडावासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजित उक्त शिविरबाट जम्मा ३३८ जना बिरामीहरूले सेवा लिएका छन्, जसमा ११० पुरुष र २२८ महिला सहभागी थिए।

शिविरको औपचारिक कार्यक्रम लायन्स क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा लहान–२१ का वडाध्यक्ष राजकुमार यादवको उपस्थिति रहँदा, कार्यक्रमलाई विशिष्ट अतिथि रूपमा विभिन्न विशेषज्ञ चिकित्सकहरूले गरिमामय बनाएका थिए।

उक्त शिविरमा डा. ओम प्रकाश चौधरी (हाड तथा नशा रोग विशेषज्ञ), डा. गीता यादव (वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ), डा. लव कुमार यादव (जेनरल फिजिसियन) र प्रमोद कुमार दास (छाला तथा कुष्ठ रोग विशेषज्ञ) लगायतको स्वास्थ्य टोलीले बिरामीहरूको जाँच गरी आवश्यक औषधि तथा परामर्श प्रदान गरेका थिए।

स्वास्थ्य शिविरमा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो, जसले ग्रामीण महिलाहरूमा स्वास्थ्यप्रतिको चासो र जागरुकता बढ्दो रहेको संकेत गर्दछ। धेरै महिलाहरूले स्त्री रोग, रक्तचाप, मधुमेह, हाडजोर्नी तथा छालासम्बन्धी समस्या र अन्य सरसर्ती रोगहरूको परीक्षण गराएका थिए।

कार्यक्रममा वडा नं. २१ का सदस्य पल्टु पासमान, विद्यालय व्यवस्थापन समिति सदस्य रञ्जित कुमार यादव, स्वास्थ्यकर्मी, स्थानीय समाजसेवी, स्वयंसेवक र युवाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

शिविर सफल बनाउन ओम पोली क्लिनिक एण्ड अर्थो सेन्टर लहान, स्वस्तिक लघुवित्त वित्तीय संस्था लहान र लहान नगरपालिका वडा नं. २१ को कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यिनै संस्थाहरूको सहकार्य र समन्वयमा शिविर प्रभावकारी रूपमा सम्पन्न हुन सकेको आयोजक संस्थाले जनाएको छ।

अध्यक्ष शंकर प्रसाद गुप्ताले स्वास्थ्य सेवा पहुँचविहीन क्षेत्रमा पु¥याउने उद्देश्यले गरिएको यस किसिमको शिविरमा वडावासीहरूको व्यापक सहभागिताले आफूहरू उत्साहित भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए।

त्यसैगरी, प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार यादवले लहान–२१ वडामा स्वास्थ्य सचेतना अभाव र आर्थिक कठिनाइका कारण धेरै नागरिक नियमित उपचारबाट वञ्चित हुँदै आएको अवस्थामा यस्तो शिविरले ठूलो राहत पुगेको बताए। उनले वडा कार्यालयको तर्फबाट भविष्यमा पनि यस्ता सहयोग गर्न सकिने आश्वासन दिए।

स्वास्थ्य सेवा पाउन दुर्गम गाउँबाट आएका वृद्ध, महिला र विपन्न वर्गका नागरिकहरूले सहज रूपमा सेवा प्राप्त गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका थिए। कतिपयले यस्ता शिविरले गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराएर समय, पैसा र यात्राको झन्झट हटाएको बताएका छन्।

शिविरको समापनमा आयोजक लायन्स क्लब अफ लहान फुलबारीले सम्पूर्ण सहयाेगी संस्था, चिकित्सक टोली, स्वयंसेवक, पत्रकार तथा सेवाग्राहीहरूप्रति आभार प्रकट गर्दै सामाजिक उत्तरदायित्वका भावनाले प्रेरित भई आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *