सिरहाको जल स्रोत तथा सिचाइ डिभिजनद्वारा लहान–१५ स्थित भलुवाही तथा गोसाइँकुण्ड जल संरचनाको सघन अनुगमन

विनोद अविरल लहान, असार ११  ।
जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय सिरहाको आयोजनामा लहान नगरपालिका–१५ स्थित सिमलटोकिको भलुवाही जल संरचना र ढोढनास्थित गोसाइँकुण्ड जल संरचनाको सघन अनुगमन गरिएको छ ।

उक्त अनुगमन टोलीको नेतृत्व डिभिजन प्रमुख डि.मो. हसमत अन्सारीले गर्नुभएको थियो । उहाँसँगै इन्जिनियर, सब–इन्जिनियर (ओभरसियर) तथा प्राविधिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

भलुवाही जल उपभोक्ता संस्था सिमलटोकिको आयोजना अन्तर्गत बनाइएका सिचाइ कुलो, पक्की संरचना, पानी प्रवाहको अवस्था, किसानको पहुँच र सिंचाइको प्रभावकारिता लगायतका पक्षहरूको सूक्ष्म अवलोकन गरिएको थियो ।

त्यस्तै, गोसाइँकुण्ड जल उपभोक्ता संस्था ढोढनामा निर्माणाधीन तथा पूर्ण संरचनाहरूको भौतिक प्रगति, कार्यान्वयनको पारदर्शिता, स्थानीय उपभोक्ताको सहभागिता तथा आयोजना व्यवस्थापनबारे पनि विस्तृत छलफल गरिएको थियो ।

डिभिजन प्रमुख अन्सारीले आयोजना गुणस्तरीय, परिणाममुखी र दिगो हुनुपर्नेमा जोड दिँदै भने, “स्थानीय उपभोक्ताको सहभागिता र स्वामित्वबिना कुनै पनि जल व्यवस्थापन आयोजना दीगो हुन सक्दैन। त्यसैले हामी अनुगमनमार्फत सुधार आवश्यक पक्षमा ध्यानाकर्षण गराउँदै छौं ।”

अनुगमन टोलीले आयोजनाको आर्थिक पक्ष, प्रवाह क्षमता, पानीको उपयोगिता र कृषकलाई परेको वास्तविक प्रभावबारे जानकारी लिई आवश्यक सुधारका लागि सुझाव समेत दिएको छ ।

स्थानीय जल उपभोक्ताहरूले सिचाइ सुविधाले आफूहरूको खेती प्रणालीमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै अझ प्रभावकारी व्यवस्थापन र समयमै मर्मतसम्भारको माग गरेका छन् ।

यस अनुगमनले आयोजना कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र नतिजामुखीता कायम गर्ने अपेक्षा गरिएको छ । जल स्रोत तथा सिचाइ विकास डिभिजन, सिरहाले जिल्लाका अन्य सिचाइ आयोजनाहरूको समेत यस्तै नियमित अनुगमन र मूल्याङ्कन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *