सिरहामा भारीमात्रामा लागूऔषध खैरोहिरोइन र ५० लाख बढी अबैध रकमसहित ५ जना पक्राउ


लहान, जेष्ठ ४ गते । सिरहा जिल्लामा प्रहरीले लागुऔषध कारोबार र अबैध रकमको ओसारपसारमा संलग्न पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।
मिति २०८२।०२।०२ गते साँझ १८:३० बजे लहान नगरपालिका–१२ स्थित भोटिया चौकमा गोप्य सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२ वर्ष) र उनकी बहिनी किरण कुमारी यादव (२६ वर्ष) लाई पक्राउ गरेको हो। यादवको साथबाट २२.९० ग्राम खैरो हिरोइनसहित नगद ५१ हजार ४५० रुपैयाँ र मोबाइल बरामद गरिएको छ। अनुसन्धानका क्रममा यादवको लहान–२२ स्थित घरबाट थप १८६ ग्राम हिरोइन, ५४ लाख १४ हजार २८५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँसहित मोबाइल चार थान र डिजिटल तराजु बरामद गरिएको छ।

त्यसैगरी, २०८२।०२।०३ गते बरियारपट्टि गाउँपालिका–३ चमार टोलबाट भारतको लदनिया हुँदै आएका कृष्ण कुमार यादव (२० वर्ष) र निरज राय (१९ वर्ष) लाई मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट ७१० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ।
त्यसैदिन दिउँसो १५:०० बजे सिरहा नगरपालिका–२ महावीर चौक नजिकै भारतको जयनगरबाट बसबिट्टा जाँदै गरेका संजय कारक (४५ वर्ष) लाई चेकजाँच गर्दा शरीरमा बाँधिएको हरियो कपडा र ‘क्नी ब्यान्डेज’ भित्र लुकाइ राखिएको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित एक थान मोबाइल र मोटरसाइकल बरामद गरिएको हो।
पक्राउ परेका सबैलाई कानून बमोजिम आवश्यक म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहा जनाएको छ।

