स्वास्थ्यका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद नाराका साथ १५ औँ सिरहा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लहानमा सम्पन्न


१७ जेठ लहान। सिरहा जिल्लाको प्रतिष्ठित खेलकुद प्रतिस्पर्धा मानिने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रतियोगिता २०८२ लहान नगरपालिका अन्तर्गतको कवडहलमा आयोजना गरिएको थियो।
प्रतियोगिताको उद्घाटन लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले गरेका थिए।

प्रतियोगितामा लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, नरहा र एसओएस लहानसहित विभिन्न नगरपालिकाका विद्यालयस्तरीय टिमहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको आसन लहान नगर प्रमुख महेश प्रसाद चौधरीले ग्रहण गरेका थिए भने समापन समारोहमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो उपस्थित थिए।

उक्त समापन समारोहमा विशिष्ट अतिथिका रूपमा जनता समाजवादी पार्टी (जसपा) लहान नगरपालिकाका नगर अध्यक्ष राम उदगार महतोको उपस्थिति थियो। साथै, प्रतियोगिताको सम्पूर्ण कार्यक्रमको अध्यक्षता सिरहा खेलकूद विकास समितिका कार्यालय प्रमुख हुकुम लाल कमातीले गरेका थिए।

प्रतियोगितामा कराते, तेक्वान्दो, भलिवल र कबड्डीजस्ता खेलहरू प्रस्तुत गरिएको थियो। सहभागी खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिता युवापुस्तामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। खेलकुदले सामाजिक एकता, सहकार्य र अनुशासनको विकासमा सहयोग पुर्याउने भन्दै आयोजकले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ भव्य र विस्तृत बनाउने प्रतिबद्धता जनाएका छन्। प्रतियोगिताको अन्त्यमा विभिन्न खेल विधामा विजयी भएका खेलाडीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरियो। आयोजक समितिका अनुसार, उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई आगामी राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर समेत प्रदान गरिनेछ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनेश महतोले खेलकुदले राष्ट्र निर्माणमा अतुलनीय योगदान दिने बताए। त्यस्तै, नगर प्रमुख चौधरीले विद्यालयस्तरमै खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै खेलाडी उत्पादनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार तथा सहयोग पुर्याउने आश्वासन दिए। कार्यक्रमको समापन सामारोहमा खेलाडी, पत्रकार र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगिता सफलताका साथ सम्पन्न भएको भन्दै आयोजक तथा सहभागीहरू दुवैले खुसी व्यक्त गरेका छन्।


















