१७ क्विन्टल अवैध लागुऔषध गाजा सहित एकजना मानिस र टिपर प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले सप्तरीको पथलगढा झिटकीबाट एक हजार ७ सय किलो गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी सहायक निरीक्षक बिलेक्षण यादवको नेतृत्वमा प्रहरी सहायक हवल्दार पनालाल महतो र प्रहरी जवान गम्भीर पासवान र प्र.नि. डम्बर बिश्वकर्माको कमाण्डमा खटिएको टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो ।
महेन्द्र हाइबेबाट पथलगढा झिटकी सडक हुँदै भारत तर्फ जादै गरेको टिपरमा लोड गरिएको एक हजार ७ सय किलो गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार सोमबार राती १० बजे ढुंगा लोड भएको को१ख ६५०३ टिपरमा गाँजा फेला परेको हो । बरामद भएको गाँजा ५६ बोरा छ ।
गाँजासहित प्रहरीले जिल्ला धनकुटा शहिदभुमी गाउपालिका-३ बस्ने यमजित रायलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो । धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ ।
धनकुटाबाट ल्याएर सप्तरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ ।
गाँजा भारत पुर्याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । गाँजा ओसारपसार गर्ने भरियाले प्रति किलो दुई हजार रुपैयाँ पाउने प्रहरीले बताएको छ ।