औरहीमा छैठौं एपिएल संस्करण क्रिकेट टुर्नामेन्ट सुरु


लहान १३ असोज । औरही गाउँपालिकाको सुन्दर जन्ता मा वि प्रागन्मा छैठौं संस्करणको एपिएल क्रिकेट खेल प्रतियोगिताको आईतवार उद्घाटन भएको छ।
“आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका साथ गा पा अध्यक्ष शिजी यादव र उपाध्यक्ष रेनु कुमारी यादवले संयुक्त रुपमा बल र व्यटिंग गरि उद्धघाटन गर्नु भएको थियो । गाउँपालिका प्रमुख शिवजी यादव प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा उप–प्रमुख रेनु कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत देव सरण यादव, वडा नं ५ का वडा अध्यक्ष रामप्रीत यादव, कार्यपालिका सदस्यहरू रामदेव राम र रुकेश कुमार यादव लगायतको सहभागिता रहेको थियो।

उद्घाटन खेल पिपरा–३ र खजनपुर–४ बीच सम्पन्न भएको थियो। खेलाडीहरूको उत्साहपूर्ण सहभागिता र दर्शकको जोशले उद्घाटन दिवसलाई विशेष बनाएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवजी यादवले खेललाई स्वास्थ्य, मैत्री र युवाको उर्जासँग जोडेर प्रस्तुत गर्दै भने, “युवाहरू देशका कर्णधार हुन्। उनीहरूले जुन सकारात्मक कार्य गरेका छन्, त्यो सराहनीय छ। यसले गाउँपालिका मात्र होइन, सम्पूर्ण समाजलाई एकताबद्ध र ऊर्जाशील बनाउन मद्दत गर्नेछ।”

उनले युवाहरूलाई यस्तै सिर्जनात्मक, स्वास्थ्यप्रद र समाजलाई उन्नत बनाउने कार्यमा निरन्तर सक्रिय रहन आग्रह गरे। यसैगरी अन्य वक्ताहरूले खेलकुदले आपसी सद्भाव, मैत्री र सहकार्यलाई प्रवर्द्धन गर्ने बताए। आयोजक समितिका अनुसार प्रतियोगिता पालिका–मैत्री ढाँचामा सञ्चालन भइरहेको छ र यसले गाउँपालिकाको खेलकुद विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको श्री जनसेवा युवा क्लब, जमुवाको अध्यक्ष श्याम कुमार यादवको अध्यक्षतामा भएको थियो भने औरही गाउँपालिकाको संयोजनमा भएको यस खेल प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मी तथा खेलप्रेमी युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।