दुर्घटना बढ्न थालेपछि यातायात कार्यालय लहानले ‘बैण्ड बाजा बजाएर’ जनचेतना जगाउँदै ।


७ असार लहान। सिरहामा सवारी दुर्घटना बढ्न थालेपछि यातायात व्यवस्था कार्यालय लहानले जनचेतनामूलक कार्यक्रम सुरु गरेका छन् ।

पछिल्ला दिनमा लहान क्षेत्रका सडकहरूमा सवारी दुर्घटनाको दर उल्लेख्यरूपमा बढेपछि यातायात व्यवस्था सेवा कार्यालय लहानले अनौठो शैलीमा जनचेतना अभियान सुरु गरेको छ। ‘बैण्ड बाजा बजाएर’ सचेतनामूलक र्याली निकाली सवारी चालक, यात्रु तथा सर्वसाधारणमा ट्राफिक नियम पालनाको सन्देश प्रवाह गरिएको हो।

लहान नगरको मुख्य बजार क्षेत्र हुँदै विभिन्न चोक–गल्लीमा उक्त अभियान सञ्चालन गरिएको थियो। र्यालीमा सहभागीहरूले ‘सुरक्षित यात्रा, हाम्रो जिम्मेवारी’, ‘गति सीमा नाघ्दा दुर्घटना निम्तिन्छ’ जस्ता प्लेकार्डहरू बोकेका थिए। बैण्ड बाजाको साथमा सञ्चालित यो कार्यक्रमले सर्वसाधारणको ध्यान आकृष्ट गरेको थियो।

चालु आर्थिक वर्षको हाल सम्ममा ८६१ वटा सवारी दुर्घटनामा १३७४ जना घाइते भएका छन् भने ७९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएका छन् । यस्तै गरी आ.व. ०८०/०८१ मा १५७९ घाइते, ६८ जनाको मृत्यु, ०७९/०८० मा १०८३ घाइते, ६६ मृत्यु र ०७८/०७९ मा ९७४ जना घाइते र ७२ जनाको मृत्यु भएको थियो ।

नयाँ ऐनले सहज बनाएको छ : मन्त्री राय सोही जनचेतना कार्यक्रममा आएका मधेस प्रदेश सरकार श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यातायात ऐनले सहज भएको बताएका छन् । ऐन अनुसार धेरे वर्षदेखि नवीकरण नभएका सबै सवारीमा लाग्ने जरिवाना शतप्रतिशत छुट दिएको उनले सुनाए । ‘अब १५ वर्षको एकमुष्ट लाइसेन्स नवीकरण हुनेछ । लाइनमा सेवाग्राही बस्ने अवस्था हटार अनलाइन माध्यमबाट पैसा तिर्ने सिस्टम लागु हूँदैछ,’उनले भने,‘अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्न लागि परेका छौँ ।’ ट्राफिक नियम उल्लघंनले दुर्घटना बढेको उनले बताए ।

