धनगढीमाई नगरपालिकामा दीप प्रज्वलन सँगै ४२ औं विश्व शान्ति दिवस भव्य रूपमा सम्पन्न
तराई फिलिक्स असोज ४, सिरहा ।
सन्तोष यादब
सिरहाको धनगढीमाई नगरपालिकामा ४२ औं विश्व शान्ति दिवस "शान्तिको संस्कृति, विकास गरौं" भन्ने मूल नाराका साथ भव्य रूपमा मनाइएको छ ।
दिवसको अवसरमा नगरपालिकामा र्यालीसहित दीप प्रज्वलन गर्दै शान्तिको सन्देश प्रवाह गरिएको थियो । हरेक वर्ष सेप्टेम्बर २१ मा मनाइने विश्व शान्ति दिवस १९८२ देखि सुरु गरिएको हो, जसको प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभाले १९८१ मा पारित गरेको थियो ।
धनगढीमाईको रेडक्रस सोसाइटी, ईलाका प्रहरी कार्यालय, नागरिक इकाई समिति, महावीर ग्रामीण ऋण तथा बचत सहकारी संस्था र साझा विकास केन्द्र धनगढीमाईको सहकार्यमा शान्ति र्यालीको आयोजना गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय अगाडिबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै रेडक्रस सोसाइटी धनगढीका पदाधिकारी गंगाराम यादवको अध्यक्षतामा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बौद्धिक व्यक्तित्व दुर्गा खड्काले शान्ति मानव जीवनको आधार भएको र यसैका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सहभागी अमर कुमार योञ्जनले शान्ति बिना समाजको विकास सम्भव नहुने कुरा उल्लेख गरे ।
धनगढीमाई नगरपालिकामा मनाइएको यस दिवसमा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो भने कार्यक्रमको उद्घोषण जनक मोतेले गरेका थिए । कार्यक्रमको विशेष पहल संजय चौधरीले गरेका थिए ।
नेपालमा २०६५ सालदेखि विश्व शान्ति दिवस औपचारिक रूपमा मनाउने प्रचलन सुरु भएको हो ।