प्रादेशिक अस्पताल लहानको जग्गा तथा भवन नाममा हस्तान्तरण साथै कर छुट।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पतालकै नाममा करछुटसहित पास गर्ने विषयमा मन्त्री परिषद्बाट निर्णय भएको छ। विगत धेरै वर्षदेखि जटिल रूपमा अल्झिँदै आएको जग्गा नामसारीको समस्या अन्ततः समाधान हुने निश्चित भएको छ। यस निर्णयसँगै अस्पतालको प्रशासनिक तथा भौतिक विकासमा देखिएको ठूलो अवरोध हट्ने विश्वास गरिएको छ।

लामो समयदेखि अस्पताल सञ्चालनका लागि अत्यन्तै महत्वपूर्ण मानिएको उक्त जग्गा नामसारीको विषय कानुनी, प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण अन्योलमा पर्दै आएको थियो। जग्गा अस्पतालकै नाममा नहुँदा विभिन्न विकास योजना, भवन निर्माण, सेवा विस्तार तथा दीर्घकालीन पूर्वाधार विकासका काम अघि बढाउन कठिनाइ भइरहेको थियो। मन्त्री परिषद्को पछिल्लो निर्णयले ती सबै अवरोधहरू हटाउने मार्ग प्रशस्त गरेको छ। माननीय खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहल तथा अस्पताल अध्यक्ष रामनारायण महतोको अथक प्रयासका कारण मन्त्री परिषद्बाट यो महत्वपूर्ण निर्णय भएको बताइएको छ।मन्त्री गुप्ताले प्रदेशस्तरीय स्वास्थ्य संस्थाको सुदृढीकरणका लागि जग्गा व्यवस्थापन अनिवार्य रहेको भन्दै निरन्तर पहल गर्दै आएका थिए र

साथै ” यस ऐतिहासिक र अनुकरणीय निर्णय लाई मूर्तरूप दिन अविस्मरणीय भूमिका, समन्वय र सहयोग प्रदान गर्नुहुने माननीय मन्त्री अनिल कुमार सिंहा ज्यू र अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ज्यू प्रति म हृदयदेखि धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु। उहाँहरूको दूरदर्शिता, जनहितप्रति प्रतिबद्धता र सक्रिय सहयोगले नै दशकौं पुरानो यो समस्या समाधान गर्न सम्भव भयो। मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यज्यूहरू प्रति पनि म उच्च सम्मान व्यक्त गर्दछु।सिरहा जिल्लाको पूर्वी भेगमा अवस्थित यो एकमात्र अस्पताल अब करिब १० लाख नागरिकका लागि आशा, भरोसा र जीवनरक्षाको केन्द्र बन्दै, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उज्यालो पहुँच सुनिश्चित गर्नेछ। साथै Trama centre मधेसमा समेत बनाउन सकिने छ ।यो सफलता तपाईंहरूकै जित हो! तपाईंहरूको माया, साथ र समर्थन नै मेरो ऊर्जा हो। हामी सँगै मिलेर राष्ट्रलाई अझ समृद्ध बनाउनेछौं ” सोसल मिडिया मार्फत जानकारी गराउदै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पोस्ट् गरेका छन् ।

अध्यक्ष महतोले समेत विभिन्न निकायसँग समन्वय गरी समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए। अस्पताल अध्यक्ष रामनारायण महतोले जानकारी दिँदै मन्त्री परिषद्को निर्णयले अस्पतालको सेवा विस्तार, भौतिक पूर्वाधार विकास तथा दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न सहज हुने बताए।

“अब जग्गा अस्पतालकै नाममा आएपछि नयाँ भवन निर्माण, विशेषज्ञ सेवा विस्तार, आधुनिक उपकरण जडान र सेवा सुधारका योजना अघि बढाउन कुनै कानुनी बाधा रहने छैन,” उनले भने। उनले यस ऐतिहासिक निर्णयका लागि मन्त्री परिषद् तथा विशेष रूपमा खेलकुद मन्त्री बब्लु गुप्ताप्रति आभार व्यक्त गरे। स्थानीय बासिन्दा तथा अस्पतालका सेवाग्राहीहरूले समेत मन्त्री परिषद्को निर्णयप्रति खुशी व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि प्रतीक्षामा रहेको समस्या समाधान हुन लागेको भन्दै यसलाई लहान क्षेत्रका लागि सकारात्मक र ऐतिहासिक कदमका रूपमा लिएका छन्।

सेवाग्राहीहरूका अनुसार जग्गा नामसारीको समस्या समाधान भएसँगै अस्पतालले थप गुणस्तरीय सेवा दिन सक्ने वातावरण बन्नेछ। स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूले पनि यो निर्णयले प्रादेशिक अस्पतालको समग्र सेवा गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार अस्पताल सुदृढ भएसँगै लहान मात्र नभई आसपासका जिल्लाका बिरामीहरूले पनि सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्।
मन्त्री परिषद्को यस निर्णयलाई स्वास्थ्य सेवा सुदृढीकरण तर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब छिट्टै प्रक्रिया पूरा भई जग्गा अस्पतालकै नाममा पास भएपछि रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ