फेसबुक सूचीकरणबारे सरकार मेटाको जवाफ ‘कुरेको कुर्यै’,

रासस २३ बैशाख लहान। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटालाई सूचीकरणका लागि दिएको एक हप्ताको म्याद तीन दिनअघि सकिएको छ।
यसअघि मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै सूचीकरणका निम्ति दिएको पछिल्लो एक महिने म्याद वैशाख ७ गतेसम्म थियो।
तर यसबीचमा मेटाका तर्फबाट कुनै सकारात्मक सङ्केत नपाएपछि विभागीय मन्त्री र मन्त्रालयका अधिकारीहरू अब के गर्ने भन्नेबारे किंकर्तव्यविमूढ देखिएका छन्।

सूचीकरणका लागि पटकपटक ताकेता गरे पनि मेटाले नटेरेपछि प्रतिबन्ध लगाइदिने चेतावनी दिँदै आएको सरकारले अब चाल्ने कदमलाई चासोपूर्वक हेरिँदै छ।

सूचीकरणका लागि नआएपछि मेटासहितका कम्पनीलाई अझै कुर्ने अथवा तिनीहरूले चलाउने सञ्जाल बन्द गर्ने भन्ने प्रश्नको स्पष्ट जवाफ मन्त्री गुरुङले दिएनन्।
“अझै पनि हामीले प्रयत्न गरिरहेका छौँ, साथीहरूले प्रयास गरिरहनुभएको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
त्यस्तो प्रयास चाहिँ कहिलेसम्म सरकारले गर्छ भन्नेबारे उनले केही बताएनन्।

पछिल्लो समय सामाजिक सञ्जाल एवं अनलाइन माध्यममार्फत् हुने ठगीलगायत विभिन्न अपराध बढ्दै गएको प्रहरीले बताउने गरेको छ।
“प्रहरीको तथ्याङ्क हेर्दा धेरै अपराध फेसबुकसँग जोडिएको देखिन्छ। यदि हत्या, हिंसालाई बढवा गर्छ, राष्ट्रिय एकता एवं अखण्डतामा खलल पुर्याउँछ भने सरकार चुप लागेर बस्दैन नि त,” सरकारका प्रवक्तासमेत रहेका गुरुङले अगाडि थपे।
