मेयर चौधरीद्वारा ३ वटा वाडामा मृतक परिवारलाई घरमै पुगेर राहत सहयोग गरेका छन् ।

६ मंसिर लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर–१२ का हुकमा सदाय, वडा नम्बर–१ का संजय सदाय र वडा नम्बर–३ की निख्रीदेवी सदायको निधन भएको दुःखद खबर प्राप्त भएपछि उनीहरूका शोकाकुल परिवारलाई घरमै पुगेर राहत सहयोग प्रदान गर्नुभएको छ । विपद् र पीडाको घडीमा नगरपालिका द्वारा नागरिकलाई एक्लो महसुस हुन नदिने उद्देश्यका साथ मेयर चौधरी स्वयं पीडित परिवारको घरमा पुगेर सहयोग गर्नुभएको हो ।

निधन भएका तीनै जना सदाय समुदायका नागरिकको असामयिक निधनले परिवार मात्र होइन, सम्पूर्ण दलित।समुदाय शोकमा डुबेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका रूपमा राहत सामग्री सहयोग गरेको मेयर चौधरीले बताउनुभयो । दुःखको घडीमा थोरै भए पनि साथ र सहयोगले पीडित परिवारलाई १३ दिनको क्रीयामा बसेका आफन्तलाइ केही राहत मिलोस् भन्ने हाम्रो चाहना हो,” नगरप्रमुखले भन्नुभयो ।

नगरपालिकाको तर्फबाट नगरप्रमुख चौधरी द्वारा चामल, दाल, नुन, तेल तथा जाडोयामलाई ध्यानमा राख्दै फाइबर सिरक पनि सहयोग गरिएको हो । यी सामग्रीहरूले शोकको समयमा आर्थिक तथा मानसिक दबाबमा रहेका परिवारलाई केही सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वडा अध्यक्ष बद्री चौधरी, रामदयाल महतो, वडा सदस्य विमला खत्री र सुशिला चौधरीलगायतका प्रतिनिधिहरूले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

जनप्रतिनिधिहरूले स्थानीय तह नागरिकसँग नजिक रहेर काम गर्नु नै सुशासन र जनमुखी सेवाको आधार भएको धारणा राखे ।पीडित परिवारका सदस्यहरूले मेयर चौधरी तथा नगरपालिकाप्रति आभार व्यक्त गर्दै दुःखको घडीमा घरमै आएर गरिएको सहयोगले आफूहरूलाई भावनात्मक बल मिलेको बताएका छन् । “यस्तो अवस्थामा नगरपालिकाका प्रमुख आफैं घरमा आएर समवेदना र सहयोग गर्नु ठूलो कुरा हो,” पीडित परिवारका सदस्यले बताए ।

नगरपालिकाले भविष्यमा पनि विपन्न, शोकाकुल र संकटमा परेका नागरिकका लागि राहत तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
