लहानमा वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि ठोस पहल : दुई वर्षभित्र हजारौँ परिवार लाभान्वित हुने


लहान २३ जेठ लहान । नगरपालिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि अगामी आर्थिक वर्षदेखि ठोस कार्यक्रम सञ्चालन गरिने भएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रतिनिधि र लहान नगरपालिकाका मेयर महेश चौधरी तथा प्रमुख प्रशासकीय अधिकृतबीच सोमबार भएको छलफलमा उक्त निर्णय गरिएको हो। छलफलमा सहभागी पक्षहरूबीच सहकार्यमा आर्थिक वर्ष २०८२/०८३ देखि वैकल्पिक ऊर्जा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सहमति जुटेको हो। उक्त योजनाअन्तर्गत आगामी दुई वर्षभित्र लहान नगरपालिकाभित्रका ४ हजार परिवारलाई डन्डक्सन (विद्युतीय चुलो), ५ हजार परिवारलाई सुधारिएको चुलो र १०० स्थानमा घरायसी बायोग्यास प्लान्ट जडान गरिने लक्ष्य राखिएको छ।

कार्यक्रममा सहभाजन अनुसार डन्डक्सन (इलेक्ट्रिक चुलो) वितरणमा लागत विभाजन यसप्रकार हुनेछः हरित जलवायु कोषले १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, लहान नगरपालिकाले १९ प्रतिशत, र उपभोक्ताले २३ प्रतिशत व्यहोर्नेछन। त्यस्तै, तह ३ का सुधारिएको चुलोको हकमा हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले समान ४०-४० प्रतिशत, लहान नगरपालिकाले १५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत लागत व्यहोर्ने व्यवस्था गरिएको छ। यसैगरी, घरायसी बायोग्यास प्लान्ट जडानमा हरित जलवायु कोषले २८ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, लहान नगरपालिकाले १० प्रतिशत र उपभोक्ताले १४ प्रतिशत लागत वहन गर्नुपर्नेछ।

नगरप्रमुख महेश चौधरीका अनुसार, “ऊर्जा सुरक्षासँगै वातावरण संरक्षणलाई ध्यानमा राखेर वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमको तयारी गरिएको हो। यसले दीर्घकालीन रुपमा नगरवासीलाई दिगो ऊर्जा उपयोगतर्फ प्रेरित गर्नेछ।” छलफलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रतिनिधिहरूले नगरपालिकासँग समन्वय गर्दै कार्यान्वयन पक्ष सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीतिगत सहकार्य तथा जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन गरिने जनाइएको छ।