विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयमा खेलकुद पूर्वाधार सुदृढीकरण

चन्द्र कान्त चौधरी लहान माघ ७ । : लहान नगरपालिका–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुर मा आज खेलकुद सामग्री हस्तान्तरण, ब्याडमिन्टन कोर्ट उद्घाटन तथा वडा कार्यालय लहान–३ बाट उपलब्ध गराइएको थप खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष महेश कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष रामदयाल महतो प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने वि.व्य.स. सदस्यहरू अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। वि.व्य.स. सदस्य मोहम्मद सलाम अन्सारीको विशेष पहलमा सामग्री संकलन गरी एक औपचारिक कार्यक्रममार्फत विद्यालयलाई हस्तान्तरण गरिएको हो। वडा कार्यालय लहान–३ को सहयोगमा विद्यालयलाई विभिन्न प्रकारका खेलकुद सामग्री प्रदान गरिएको छ। यसै अवसरमा विद्यालय परिसरमै निर्माण गरिएको ब्याडमिन्टन कोर्टको औपचारिक उद्घाटनसमेत गरिएको छ।

कार्यक्रमका संयोजक श्यामसुन्दर महतोका अनुसार विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उहाँले विद्यालयस्तरमै खेलकुद संरचना र सामग्री उपलब्ध गराउँदा विद्यार्थीहरू खेलकुदतर्फ आकर्षित हुने र प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष रामदयाल महतोले शिक्षा सँगसँगै खेलकुदलाई पनि समान महत्व दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, सहकार्य र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउँदै वडा कार्यालयबाट सम्भव हुने सहयोग आगामी दिनहरूमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयमा खेलकुद पूर्वाधार विकासले विद्यार्थीलाई स्वस्थ, सक्षम र प्रतिस्पर्धी बनाउन मद्दत गर्ने उहाँको भनाइ थियो।

अध्यक्ष महेश कुशवाहाले विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय समुदायको सहकार्यमा विद्यालयलाई शैक्षिक मात्र नभई खेलकुद, सांस्कृतिक र नैतिक विकासको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले आवश्यक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा तथा सह–पाठ्यक्रम गतिविधिमा जोड दिँदै खेलकुद सामग्री प्राप्त हुनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।

ब्याडमिन्टन कोर्ट उद्घाटनसँगै विद्यार्थीहरू नियमित अभ्यासमा सहभागी हुने अपेक्षा गरिएको छ, जसले विद्यालयस्तरदेखि नै खेलकुद प्रतिभा पहिचान र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, वडा प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयमा सकारात्मक खेलकुद वातावरण सिर्जना हुनु स्वागतयोग्य पहल भएको प्रतिक्रिया दिएका छन्। अन्त्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई आयोजकले धन्यवाद ज्ञापन गरेको थियो।
