सप्तरी -४ मा तेजुलाल चौधरीको कार्यकर्ता भेटघाट अभियान तिव्र रुप लिदै।

लहान, २८ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार तेजुलाल चौधरी यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सक्रिय देखिएका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै चौधरी आफ्ना नेताकार्यकर्ता र समर्थकहरूको टोलीसहित गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

अभियान अन्तर्गत स्थानीय बासिन्दासँग भेटघाट, समस्या सुनुवाइ तथा पार्टीका नीति र योजना प्रस्तुत गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ। घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम अन्तर्गत आज बोदेबर्साइन नगरपालिका–२ स्थित गौरा, बरहा र नेङरा गाउँमा व्यापक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमका क्रममा उम्मेदवार चौधरीले स्थानीय बासिन्दासँग घर–घर पुगेर हातेमालो गर्दै मतदाताका गुनासा, सुझाव र अपेक्षाहरू सुनेका थिए। उनले जनतासँगको प्रत्यक्ष भेटघाटले आफूलाई क्षेत्रको वास्तविक अवस्था बुझ्न सहज भएको प्रतिक्रिया दिए।

भेटघाटका क्रममा चौधरीले नेपाली काङ्ग्रेस पार्टीका विकाससम्बन्धी दृष्टिकोण, आगामी योजना र क्षेत्रीय प्राथमिकताबारे जानकारी गराएका थिए। उनले शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, रोजगारी तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई मुख्य एजेण्डा बनाएको उल्लेख गर्दै चुनावपछि योजनाबद्ध रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

“जनताको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “सामाजिक न्याय, सुशासन र क्षेत्रीय सन्तुलित विकासलाई केन्द्रमा राखेर काम गर्ने मेरो स्पष्ट योजना छ।”उनले विगतमा सुरु भएका तर अधुरा रहेका विकास निर्माणका कामहरूलाई पूर्णता दिन आफूले उम्मेदवारी दिएको बताए। विकासका केही योजनाहरू प्रक्रियामा रहे पनि विभिन्न कारणले पूरा हुन नसकेको उल्लेख गर्दै उनले यसपटक जनताले अवसर दिए ती योजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता जनाए। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको थियो।

कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि यसपटक नेपाली काङ्ग्रेसलाई मजबुत समर्थन गर्न मतदातासँग अपिल गरेका थिए। उनीहरूले स्थिरता, विकास र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको धारणा राखे। परिवर्तनलाई संस्थागत गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिने भन्दै चौधरी उपयुक्त उम्मेदवार रहेको उनीहरूको भनाइ थियो।

स्थानीय कार्यकर्ताहरूको सक्रिय सहभागिताले चुनावी अभियान थप उत्साहजनक बनेको आयोजक पक्षले जनाएको छ। टोल–टोलमा आयोजित साना अन्तरक्रिया, छलफल र भेटघाट कार्यक्रममार्फत मतदातासँग नजिकिने रणनीति अनुसार अभियान सञ्चालन भइरहेको बताइएको छ। पार्टी स्रोतका अनुसार आगामी दिनमा पनि क्षेत्रका विभिन्न वडामा घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ।

घरदैलो अभियानका क्रममा देखिएको जनउत्साहले आफू थप जिम्मेवार बनेको प्रतिक्रिया दिँदै उम्मेदवार चौधरीले जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। चुनाव नजिकिँदै जाँदा सप्तरी–४ मा चुनावी गतिविधि थप चहलपहलपूर्ण बन्दै गएको छ।
