सभापति यादवको पहल निष्कर्षमा : कटनियामा पुल बन्ने पक्का ।


विनोद मण्डल, जेठ ३१ ।
सिराहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी पुग्ने मुख्य सडक मार्गमा पर्ने कटनिया नदीमा अब पक्की पुल निर्माण हुने पक्का भएको छ । वर्षौँदेखि पुल अभावमा यातायात अवरुद्ध हुँदै आएको उक्त स्थानमा पुल निर्माण नहुँदा सिराहावासी लामो समयदेखि सास्ती भोग्दै आएका थिए । तर अब नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको सक्रिय पहलमा जनताको यो बहुप्रतीक्षित सपना साकार हुने भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाईलदेखि बरियारपट्टी जाने मुख्य सडकमा पर्ने कटनिया नदीमा हरेक वर्ष बाढीका कारण यात्रु तथा सवारी साधनको आवागमन प्रभावित हुनेगरेको थियो । विशेषतः वर्षायाममा नदीको बहाव बढ्ने भएकाले पुल नभएको स्थानमा स्थानीय बासिन्दा जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य हुँदै आएका थिए ।

यस समस्याको दीर्घकालीन समाधानस्वरूप नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्व संविधानसभा सदस्य रामचन्द्र यादवले आर्थिक वर्ष २०८१/०८२ को लागि पुल निर्माणको माग राख्दै शहरी विकास मन्त्रालयमा लिखित रूपमा निवेदन दर्ता गराएका थिए । मिति २०८१/१२/१३ मा कांग्रेसको लेटरहेडमा चलानी नम्बर १७२ सहित सिंहदरबारस्थित मन्त्रालयमा निवेदन दर्ता गराइएको थियो ।
सभापति यादवको निरन्तर पहल र दबाबका कारण मन्त्रालयले कटनिया पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएसँगै अब छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने निश्चित भएको हो ।

सभापति यादवले जनताको पीडा बुझ्दै वर्षौंदेखिको मागलाई प्राथमिकतामा राखेर आफूले पहल अघि बढाएको बताए । उनले भने, “कटनिया पुल केवल एउटा निर्माण मात्र होइन, यो स्थानीय जनताको बाँच्न पाउने अधिकारसँग जोडिएको विषय हो । अब पुल बन्ने पक्का भएपछि जनताले सहज र सुरक्षित यात्रा गर्न पाउनेछन् ।”
स्थानीयवासी, सर्वसाधारण र सरोकारवालाहरूले सभापति यादवप्रति कृतज्ञता व्यक्त गर्दै पुल निर्माणमा चासो देखाएका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । कटनिया पुल निर्माणले अब सिराहाको दक्षिणी सीमा क्षेत्रमा आवागमन, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।