सिरहाको धनगढीमाई–८ मा ८० प्रतिशत पूर्वाधार विकास योजना सम्पन्न, बाँकी कार्य तीव्र गतिमा

विनोद मण्डल, आषाढ १, सिराहा ।
सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–८ मा चालू आर्थिक वर्ष २०८१/८२ मा संघीय, प्रदेश तथा नगर सरकारको समन्वयमा सञ्चालित विभिन्न पूर्वाधार विकास योजना अन्तर्गतको कार्य ८० प्रतिशत सम्पन्न भएको छ भने बाँकी २० प्रतिशत कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।

स्थानीय जनताको प्रत्यक्ष सहभागिता, जनप्रतिनिधिको सक्रियता र सम्बन्धित निकायको सहकार्यमा पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएको वडा अध्यक्षको भनाइ छ । जनताको जीवनस्तर सुधार र आधारभूत आवश्यकता पूर्तिका लागि लक्षित योजनाहरु यस वर्ष विशेष प्राथमिकतामा राखिएको छ ।

तरकारी संकलन केन्द्र भवन निर्माण कार्य – लागत: १ करोड रुपैयाँ ।
कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको भवन अब अन्तिम चरणमा पुगेको छ । यसबाट स्थानीय किसानले बजारसम्म तरकारी पुर्याउन सहज हुने अपेक्षा गरिएको छ ।

कसहा सडक ढलान निर्माण कार्य – लागत: ४५ लाख रुपैयाँग्रामीण सडक सञ्जाल विस्तारको अभिन्न अङ्गको रूपमा रहेको यस सडक ढलान कार्य ८५% पूरा भइसकेको छ । बाँकी कार्य आगामी दुई हप्ताभित्र सम्पन्न हुने बताइएको छ।

महुवाडाडा सडक ढलान निर्माण कार्य – लागत: ५० लाख रुपैयाँबस्ती विकाससँग जोडिएको यो सडक निर्माणले वर्षायाममा आउने समस्या समाधान गर्दै स्थानीयलाई सहज आवागमनको सुविधा दिनेछ ।

स्वास्थ्य चौकीको स्तरोन्नति – लागत: ४० लाख रुपैयाँ  । पुरानो स्वास्थ्य चौकीमा सेवा विस्तार र नयाँ उपकरणको व्यवस्थापन कार्य अन्तिम चरणमा छ । सेवा लिने नागरिकको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

विद्यालय भवन निर्माण कार्य – लागत: २५ लाख रुपैयाँ । शैक्षिक गुणस्तर सुधारका लागि निर्माण भइरहेको भवन छिट्टै सम्पन्न भई कक्षा सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।

वडा कार्यालय भवन निर्माण – लागत: ५० लाख रुपैयाँ । नागरिक सेवामा थप सहजता ल्याउने उद्देश्यले बनाइँदै गरिएको कार्यालय भवनले सेवा प्रवाहमा पारदर्शिता र तत्परताको प्रत्याभूति दिलाउने विश्वास गरिएको छ ।

बोर्डिङ जडान कार्य – लागत: ४५ लाख रुपैयाँ ।सडक तथा सार्वजनिक संरचनालाई व्यवस्थित र सूचनामूलक बनाउने कार्यमा बोर्डिङ जडान कार्य प्रभावकारी ढङ्गले अघि बढिरहेको छ ।

मन्दिर निर्माण कार्य – लागत: १० लाख रुपैयाँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिर निर्माण कार्यले सामुदायिक एकता अभिवृद्धिमा योगदान पुर्‍याउनेछ ।

नदी नियन्त्रण कार्य – लागत: २६ लाख रुपैयाँ । बाढी तथा कटान नियन्त्रणका लागि गरिएको नदी नियन्त्रण कार्य गाउँको दीर्घकालीन सुरक्षा रणनीतिको हिस्सा हो ।

धनगढीमाई नगरपालिका–८ का अधिकांश योजनाहरू ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेका छन् भने बाँकी कार्य निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । स्थानीय सरकार, प्राविधिक टोली र उपभोक्ता समितिको सहकार्यले पूर्वाधार विकासको गतिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

वडाबासीले तीव्र गतिमा भइरहेको विकास गतिविधिहरूलाई उत्साहजनक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । आगामी दिनमा समेत योजनाहरू गुणस्तरीय रूपमा सम्पन्न गर्न वडा कार्यालय प्रतिबद्ध रहेको जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *