जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई लहान नगरपालिकाद्वारा प्रविधि सामग्री हस्तान्तर

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

८ पुष लहान । जेन–जी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएका विभिन्न सरकारी कार्यालयलाई लहान नगरपालिकाले आज आवश्यक प्रविधि सामग्री हस्तान्तरण गरेको छ । आन्दोलनका कारण कार्यालय संरचना र सामग्रीमा क्षति पुगेपछि दैनिक सेवा प्रवाहमा देखिएको समस्या समाधान गर्न नगरपालिकाले सहकार्यको पहल गरेको हो ।


नगरपालिकाले लहानस्थित घरेलु तथा साना उद्योग कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय तथा इलाका प्रशासन कार्यालयलाई  एक–एक थान कम्प्युटर र प्रिन्टर सेट प्रदान गरेको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रम नगर प्रमुख महेश प्रसाद चौधरीको उपस्थितिमा सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सरकारी कार्यालयको नियमित कामकाज प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी कार्यालयमा प्रविधिको अभाव हुँदा सेवाग्राहीहरू प्रत्यक्ष रूपमा मर्कामा परिरहेका थिए । नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।”


मेयर चौधरीका अनुसार स्थानीय तहको जिम्मेवारी केवल सडक, भवन जस्ता भौतिक संरचना निर्माणमा मात्र सीमित हुँदैन । सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनु पनि स्थानीय सरकारको महत्वपूर्ण दायित्व रहेको उहाँको भनाइ छ । “कार्यालयहरू सक्षम भए मात्र नागरिकले सहज रूपमा सेवा पाउँछन्, त्यसैले आवश्यकता अनुसार नगरपालिकाले समन्वय र सहकार्य गर्दै आएको छ,” उहाँले थप्नुभयो ।


उक्त अवसरमा सम्बन्धित कार्यालय प्रमुखहरूले नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै प्रविधि सामग्री प्राप्त भएपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेका थिए । उनीहरूका अनुसार कम्प्युटर र प्रिन्टर अभावकै कारण नागरिकका काम ढिलाइ भइरहेको थियो भने अब नियमित सेवा छिटोछरितो रूपमा दिन सकिनेछ ।

नगरपालिकाले आगामी दिनमा पनि संघीय तथा प्रदेश सरकारका कार्यालयसँग समन्वय गर्दै स्थानीय स्तरमा सेवा प्रवाहमा देखिने समस्या समाधानका लागि आवश्यक सहयोग गर्दै जाने जनाएको छ । यस कदमलाई स्थानीय प्रशासन सुदृढीकरण र नागरिक सेवामा सुधारतर्फको सकारात्मक पहलका रूपमा लिइएको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ