जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्दै २०६ थान फाइबर सिरक वितरण

लहान,पुष २१। लहान नगरपालिका–२ नं. वडा कार्यालय, सिरहाको आयोजनामा २०८२ साल पुस २१ गते जेष्ठ नागरिक तथा एकल महिला सम्मान तथा फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न भएको छ। वडा नं. २कै बजेटबाट सञ्चालन गरिएको उक्त कार्यक्रममा २०६ थान फाइबरसिरक वितरण गरिएको हो।

कार्यक्रम वडा अध्यक्ष सिया राम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्यहरू लाल मोहम्मद मिया, सितली देवी राम, सारदा देवी कोइरी, कमल सदाय, कास कमलेश यादव तथा वडा सचिव मधुसूदन यादव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले जेष्ठ नागरिक, एकल महिला तथा अतिविपन्न वर्गलाई लक्षित गर्दै राहत स्वरूप सिरक वितरण कार्यक्रम विगतदेखि नै निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिए।उनले आफू निर्वाचनमा निर्वाचित भएदेखि नै वडा नं. २ को आयोजनामा हरेक वर्ष जाडोयाममा सिरक वितरण गर्दै आएको बताए।

कार्यक्रमप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी एक जना वृद्धले यस्तो कठ्यांग्रिने जाडो मौसममा जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो सिरक प्रदान गरेर वडा अध्यक्ष यादवले ठूलो उपकार गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले वडा अध्यक्ष यादव केवल जनप्रतिनिधि मात्र नभई यस वडाका नागरिकका लागि महान व्यक्तित्व भएको धारणा राखे।

जाडोयाममा राहत स्वरूप गरिएको यस किसिमको सामाजिक कार्यक्रमले जेष्ठ नागरिक तथा एकल महिलालाई ठूलो राहत पुगेको सहभागीहरूको भनाइ रहेको छ।
