दाजुभाइबीच १९ वर्षदेखि अंशबण्डा नहुँदा विवाद, भाई अरुण कुमार सिंह बिजोगमा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान, १७ असोज । सिरहाको धनगढीमाई नगरपालिका–४ मा दाजुभाइबीच १९ वर्षसम्म अंशबण्डा नहुँदा पारिवारिक विवाद चुलिएको छ । दाजु ललित कुमार सिंहसँग छुट्टिए पनि अहिलेसम्म अंशबण्डा नहुँदा आफू बिजोगमा परेको भन्दै भाई अरुण कुमार सिंहले शुक्रबार पत्रकार सम्मेलनमार्फत पीडा सार्वजनिक गरेका हुन् । अरुणका अनुसार अंशबण्डा नहुँदा दाजु ललितले पटक–पटक विभिन्न बैंकमा जग्गा धरौटी राखी ठूलो मात्रामा ऋण लिएका छन् । बैंकबाट ऋण निकाल्दा दुवै दाजुभाइको हस्ताक्षर आवश्यक पर्ने भएकाले आफू पनि बाध्यतावश संलग्न हुनुपरेको उनले बताए । “म मेरो भागको जग्गा मात्र प्रयोग गर्नुपर्नेमा दाजुले मेरो भागको जग्गा समेत धरौटीमा राखेर कारोबार गरेका छन् । अहिले व्यवसाय नफस्टाउँदा बैंकको ऋण बढ्दै गएको छ,” उनले गुनासो पोखे ।

अरुणले अझै करिब २२ लाख रुपैयाँ फिर्ता लिन बाँकी रहेको समेत दाबी गरे । “दाजुले मेरो नाममा भएको खाली चेकमार्फत २५ लाख निकालेका थिए । केही रकम तिरे पनि अझै ठूलो हिस्सा फिर्ता गर्न आनाकानी गरिरहेका छन्,” उनले आँसु झार्दै भने, “म आफैं सुगरको बिरामी छु, कम्तिमा मेरा छोराछोरीको भविष्य सुरक्षित गरिदिनुहोस् भन्ने मेरो आग्रह हो ।”


यस विषयमा समाजिक अगुवा देवेन्द्र सिंहले गाउँमा तीन–चार पटक पंचायत बसेर समाधान खोजिएको जानकारी दिए । “अंशबण्डा र ऋणको हिसाब मिलाउने गरी बण्ड (कागज) समेत बनेको हो । तर व्यवहारमा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । ती सबै कागजात अहिले पनि मेरोमा सुरक्षित छन्,” अगुवा सिंहले भने । तर, अरुणका दाजु ललित कुमार सिंहले अंशबण्डा नभएको स्वीकारे पनि आफूले ऋण लिन बाध्य भएको बताए । “बुबाको नाममा रहेको जग्गा प्रयोग गरेर म व्यवसाय गर्न चाहन्थेँ । बुबाले मलाई दिनुभयो, त्यसैका आधारमा बैंकमा ऋण निकालियो । अरुणले भने जस्तै म आफ्नै हिसाबले ऋण तिर्दै आएको छु, अझै बाँकी रकम पनि छ,” ललितले स्पष्ट पारे ।

उनका अनुसार अहिले व्यवसाय मन्दीमा परेकाले तत्काल ऋण तिर्न नसकेको तर जग्गा बिक्री गर्ने तयारी भइरहेको बताए । “जग्गा बिक्री भएपछि तत्कालै ऋण फर्छ्यौट गर्ने तयारीमा छु । बरु अरुणलाई उनको हिस्साको मूल्य बराबर घरेरी दिन पनि म तयार छु,” उनले भने । यसबीच, बुवा पलट प्रसाद सिंहले भने अंशबण्डा हुन नसक्नुमा दुबै छोराको गल्ती रहेको बताए । “मैले पटक–पटक बण्डा गरिदिन भनेको थिएँ । तर अहिले अरुण र उनकी श्रीमतीले मलाई नै कुटपिट र गालीगलौज गर्न थाले । त्यसैले मैले बण्डा गरिदिन इन्कार गरेको हुँ,” उनले गुनासो गरे ।स्थानीयले पटक–पटक मेलमिलाप गर्न खोजे पनि विवाद अझै टुंगोमा नपुगेकोले परिवार तनावमा परेको छ । बैंकको ऋण, जग्गा धरौटी र पारिवारिक सम्पत्ति बाँडफाँडको विषयमा स्थानीयस्तरमै छलफल भइरहेको भए पनि कानुनी कदम चाल्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *