भगवानपुर नर्सरीमा ९५ हजार बिरुवाहरु तयारी अवश्थामा ,किसानको पर्खाइमा


लहान २० साउन । डिभिजन वन कार्यालय लहानद्वारा सञ्चालित सिरहाको १५ स्थानिय तहमा सञ्चालित समृद्धका लागि वन कार्यक्रम अन्तर्गत बहुवर्षिय बिरुवा उत्पादन भगवानपुर वन नर्सरीमा पनि देख्न पाइन्छ । भगवानपुर नर्सरीमा विभिन्न प्रजातीका गुणस्तरीय बिरुवा निःशुल्क वितरण शुरु गरिएको छ ।

मलेशियन सखुवा, गमहारी, ईमली, अम्बा ईत्यादी गरि यहाँ हाल १८ प्रजातिका ९५ हजार बिरुवा रहेको वन नर्सरीका नाइके सन्तोष झा ले बताए ।

डिभिजन वन कार्यालय लहानको बहुवर्षिय बिरुवा उत्पादन कार्यक्रम अन्र्तगत आ.व. २०८१।८२ मा उक्त बिरुवा तयार पारिएको हो । यस वर्ष सुख्खा खडेरीका कारण समयमा पानी र विजुली प्राप्त नभएको कारण बिरुवा उत्पादनमा केही ढिलाइ भएको नाइके झा ले बताए । वन कार्यालयको साझेदारीमा पालिका स्तरिय वन नर्सरीको व्यवस्थापन अनुगमन गर्ने कार्य भर्खरै सम्पन्न भएको छ ।

वन नर्सरीबाट निःसुल्क रुपमा किसानहरुलाई बिरुवा प्रदान गर्ने वन अधिकृत राधेश्याम चौधरीले बताए । अधिकृत चौधरीका अनुसार एक किसानले जति पनि बिरुवा लान सकिने छ । ५० ओटा बिरुवाको लागि सामान्य नाम ठेगाना र मोवाइल नं. भए पुग्छ तर त्यो भन्दा बढि बिरुवा चाहिएमा लगाउने जग्गाको लालपुर्जाको फोटोकोपी र वडाको सिपारिसमा किसानलाई निःशुल्क रुपमा वन नर्सरीमा उपलब्ध भएका बिरुवा प्रदान गर्ने अधिकृत चौधरीले बताए ।