लक्ष्मीपुर पतारी गाउँपालिकामा सरकारी सवारीको दुरुपयोग, स्थानीय सरकार मौन


१७ गते बैशाख लहान। लक्ष्मीपुर पतारी गाउँपालिकामा सरकारी दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल) को दुरुपयोग भएको आरोप लाग्दा पनि स्थानीय सरकार मौन बसेको छ। गाउँपालिकाका ६ वटा वडामा कार्यरत वडा सचिवहरूले १२ वटा सरकारी मोटरसाइकल प्रयोग गरिरहेको स्रोतहरू बताउँछन्। सामान्यतया एक वडाका लागि एकवटा मोटरसाइकल आवश्यक पर्ने भए पनि दोब्बर संख्यामा सवारी साधन प्रयोगमा आएको जनाइएको छ।

स्थानीय स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंह र जिन्सी शाखा प्रमुख अञ्जनी कुमार चौधरीको मिलोमतोमा सरकारी सवारी साधनहरू व्यक्तिगत स्वार्थमा प्रयोग भइरहेको छ। एक स्थानीयरूका भनाइअनुसार, “वडामा काम गर्नुपर्छ भन्दै ल्याइएका मोटरसाइकलहरू व्यक्तिगत काममा प्रयोग हुन्छन्। कतिपय त घरमै थन्किएका छन्, सेवा प्रवाहमा कुनै भूमिका छैन।”
जनगुनासो बढ्दो भए पनि गाउँपालिका कार्यालयले यसबारे अहिलेसम्म कुनै ठोस कदम नचालेको भन्दै स्थानीयवासीहरू आक्रोशित छन्। यसले सरकारी संयन्त्रप्रति नागरिकको विश्वास घटाउने मात्र होइन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न पनि उठाएको छ।

सम्बन्धित आरोपबारे प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई फोन सम्पर्क गर्दा उहाँको मोबाइल फोन स्विच अफ अवस्थामा पाइयो। जिन्सी शाखा प्रमुख अञ्जनी कुमार चौधरीसँग सम्पर्क गर्ने प्रयाससमेत सफल हुन सकेन।

अब सार्वजनिक सम्पत्तिको संरक्षण र प्रभावकारी प्रयोगका लागि गाउँपालिकाले यस्ता गम्भीर आरोपको छानबिन गर्दै दोषीहरूलाई जवाफदेही बनाउने कि फेरि पनि मौन बस्ने भन्ने प्रश्नले स्थानीय तहमा चर्चा ल्याएको छ।