लक्ष्मीपुर पतारीबाट सहिदकी आमा संघीय समानुपातिक उम्मेदवारमा सर्वसम्मत सिफारिस

११ गते मंसिर लहान ।
नेपाली कम्युनिस्ट पार्टीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट एक ऐतिहासिक र भावनात्मक निर्णय गर्दै आगामी संघीय निर्वाचनका लागि लीला परियारलाई उम्मेदवार सिफारिस गरेको छ। गाउँपालिका कमिटीको विशेष बैठकले सहिदकी आमा समेत रहेकी परियारलाई संघीय संसदको समानुपातिक उम्मेदवार (महिला/दलित तर्फ) मा सर्वसम्मत रूपमा चयन गरेको हो।

पार्टीको यो निर्णयले तल्लो तहका कार्यकर्ता र सहिद परिवारमा नयाँ उत्साह भरेको छ।
लीला परियार केवल एक राजनीतिक कार्यकर्ता मात्र नभई नेपाली परिवर्तनको आन्दोलनमा आफ्नो सन्तान गुमाएकी एक साहसी आमा हुन्। जनयुद्ध र विभिन्न राजनीतिक आन्दोलनका क्रममा उनका छोराले देश र जनताको मुक्तिका लागि शहादत प्राप्त गरेका थिए। छोराको सहादतपछि पनि विचलित नभई उनी निरन्तर पार्टी संगठन र समाजसेवामा सक्रिय रहँदै आएकी छिन्।

पार्टीको गाउँपालिका कमिटीका अनुसार, “सहिदको सपना साकार पार्ने र उनीहरूको परिवारलाई उचित सम्मान दिने नीति अनुरूप परियारलाई सिफारिस गरिएको हो।” बैठकमा सहभागी नेताहरूले पटक-पटक अवसर पाएकाहरूलाई भन्दा पनि आन्दोलनमा रगत पसिना बगाएका र त्याग गरेका परिवारलाई राज्यको मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका थिए।

नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा उतार्न यो सिफारिस कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। दलित समुदायबाट प्रतिनिधित्व गर्ने र त्यसमा पनि सहिदकी आमा हुनुले सामाजिक न्यायको दृष्टिकोणले यो निर्णय अत्यन्तै महत्वपूर्ण मानिएको छ।
लक्ष्मीपुर पतारी गाउँपालिकाका पार्टी अध्यक्षले भन्नुभयो, “हामीले शक्तिको आडमा होइन, भक्तिको आडमा पनि होइन, बरु त्याग र बलिदानको कदर गर्दै लीला परियारलाई छानेका हौं। उहाँको चयनले सिङ्गो गाउँपालिकाका उत्पीडित वर्ग र सहिद परिवारको शिर उच्च भएको छ।”

लीला परियारको सिफारिसको खबर सार्वजनिक भएलगत्तै लक्ष्मीपुर पतारीका विभिन्न वडामा कार्यकर्ताहरूले खुसी व्यक्त गरेका छन्। स्थानीय स्तरमा उनी एक सरल, मिलनसार र सधैं गरिबका दुःखमा साथ दिने महिलाको रूपमा चिनिन्छिन्।
कार्यकर्ताहरूका अनुसार, “सधैं टाठाबाठा र पहुँचवालाहरूले मात्र अवसर पाउने परिपाटीलाई यसपटक लक्ष्मीपुर पतारी नेकपाले तोडेको छ। एक वास्तविक भुईँमान्छे र सहिदको आमालाई सदनसम्म पुर्याउने यो प्रयास प्रशंसनीय छ।”

गाउँपालिका कमिटीले सर्वसम्मत रूपमा गरेको यो सिफारिसलाई अब जिल्ला कमिटी र प्रदेश कमिटी हुँदै पार्टीको केन्द्रीय सचिवालयमा पठाइनेछ। केन्द्रीय कमिटीले देशभरबाट आएका सिफारिसहरूलाई क्लस्टर अनुसार मिलाएर अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउनेछ।
पार्टीका उच्च नेताहरूले पनि सहिद परिवारलाई प्राथमिकता दिने आश्वासन दिएका कारण लीला परियारको नाम अन्तिम सूचीमा पर्ने र उनी संघीय संसदमा पुग्नेमा स्थानीय नेताहरू विश्वस्त देखिएका छन्।
