लहानका विभिन्न वडाका गरीब दलित र विपन्न परीवारलाइ नगरपालिका द्वारा फाइवर कम्बल वितरण ।

लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी न्यानो फाइवर कम्बल/सिरक वितरण कार्यक्रम सुरु गरेको छ । जाडोबाट सबैभन्दा बढी प्रभावित हुने दलित, गरीब, मुसहर समुदायको विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत दिन नगरपालिकाले न्यानो फाइवर कम्बल वितरण थालेको हो ।

यसैक्रममा शनिबार र आइतबार लहान नगरपालिकाले वडा नम्बर १५ स्थित बानो टोलका २८ जना विपन्न मुसहर परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । त्यस्तै वडा नम्बर २४ का ८५ जनालाई त्यसैगरी लहान-१८ मा २२ जनालाई र १९ मा २७ जना गरि जम्मा गरि १६२ जनालाई न्यानो फाइवर कम्बल वितरण गरेको नगरप्रमुख चौधरीले जनाएको छ।

चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा नगरपालिकाबाट प्राप्त न्यानो कम्बलले राहत मिलेको स्थानीयवासीहरूले बताएका छन् ।नगर प्रमुख महेशप्रसाद चौधरीले यस वर्षको जाडो मौसममा नगरका सबै वडामा गरी ५/७ सयभन्दा बढी कम्बल वितरण गर्ने योजना रहेको जानकारी दिए । “जाडोको समयमा दलित, विपन्न र गरिब समुदाय सबैभन्दा बढी प्रभावित हुन्छन्,” मेयर चौधरीले भने, “नगरपालिकाको दायित्व भनेकै यस्ता समुदायलाई समयमै राहत पुर्याउनु हो । त्यसैले सबै वडामा आवश्यकताको आधारमा कम्बल वितरण गरिनेछ ।”

उनका अनुसार नगरपालिकाले वडास्तरमै तथ्यांक संकलन गरी वास्तविक रूपमा आवश्यक पर्ने परिवारलाई प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिरहेको छ । यसले राहत सामग्री दुरुपयोग नहोस् र सही व्यक्तिसम्म पुगोस् भन्ने उद्देश्य लिएको छ । कम्बल वितरणसँगै नगरपालिकाले सर्वसाधारण तथा बटुवालाई लक्षित गरी सार्वजनिक स्थानमा आगो बाल्ने व्यवस्था पनि मिलाएको छ । चिसो अत्यधिक बढेकाले बिहान र साँझको समयमा चोक, बजार क्षेत्र तथा मानिसहरूको बढी आवतजावत हुने स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयवासीहरूले नगरपालिकाको यस पहलले चिसो मौसममा न्यानो कपडा र आगो ताप्ने व्यवस्था गरिदिँदा स्वास्थ्य समस्याबाट जोगिन सहयोग पुगेको उनीहरूको भनाइ छ ।

नगरपालिकाले आगामी दिनमा पनि चिसोको अवस्था हेरेर राहत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । साथै, आवश्यक परे थप न्यानो कपडा तथा अन्य सहयोग सामग्री वितरण गरिने मेयर चौधरीले जानकारी दिए ।
