सिरहाको बरीयारपट्टि बाट स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

२५ गते मंसिर लहान।जिल्ला सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मङ्गलबार मध्याह्न मिति २०८२ मंसिर २३ गते अन्दाजी १२ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेको भारतीय नम्बर प्लेट भएको बिआर ३२ एडब्लु –८३७७ नम्बरको स्कुटी जाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखिएको सात लाख रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

प्रहरी उपरीक्षक शर्माका अनुसार उक्त स्कुटी चालक बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतोलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ । उनका अनुसार, बरियारपट्टी क्षेत्रमा केही दिनदेखि निगरानी बढाइएपछि जाँच कडा पारिएको थियो ।


सोही क्रममा महतोलाई रोकि चेकजाँच गर्ने क्रममा डिकी खोल्दा ठूलो परिमाणको नगद रुपैया भेटिएको हो । पक्राउ परेका महतोमाथि नगदको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिप्रका सिरहाले जनाएको छ ।


