अपाङ्ग बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

रहमुल, लहान – मंसिर ६ अपाङ्ग बालबालिकाको शिक्षा तथा स्वास्थ्य पहुँच विस्तार गर्ने लक्ष्यसहित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, मधेस प्रदेश कार्यालय (क्लब फुट क्लिनिक) लहानले सिरहा, सप्तरी र धनुषा जिल्लाका ६० जना अपाङ्ग बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ।


जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिका–३ का वडा अध्यक्ष राम दयाल महतो विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। बालबालिकालाई प्रदान गरिएको सामग्रीमा स्कुल ब्याग, कॉपी, पेन्सिल, इरेजर, कटर, स्विटर, टोपी, मोजा लगायतका शैक्षिक तथा न्यानो लुगा समावेश थिए।


मधेस प्रदेशका प्रमुख भोगेन्द्र महतोका अनुसार, यस किसिमका कार्यक्रमले अपाङ्ग बालबालिकामा आत्मविश्वास, अध्ययनप्रतिको रुचि तथा मनोबलमा सकारात्मक प्रभाव पारेका छन्। अभिभावकहरूले पनि यस्ता सहयोग कार्यक्रमले बालबालिकालाई विद्यालयमा टिकाइराख्न र उनीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुगेको प्रतिक्रिया दिएका छन्।

