लहान -४ मा राष्ट्रिय स्तरका क्रीकेट स्टेडियमको शिलान्यास सम्पन्न ।

३ गते बैशाख लहान । लहान नगरपालिका–४ मा क्रिकेट स्टेडियम निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

कुल ८ करोड २३ लाख रुपैयाँको लागत अनुमान गरिएकोमा सञ्जय जेसी तनिष्का जेभी निर्माण कम्पनीले ५ करोड ६२ लाखमा ठेक्का लिएको छ ।यसका लागि नगरपालिकाले ५ करोड तथा संघ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रसाशकिय अधिकृत ,जनप्रतिनिधि, स्थानीय बासिन्दा ,पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखले लहानमा खेलकुद पूर्वाधार विकासका लागि यो परियोजना महत्वपूर्ण कदम भएको बताए। उनले भने, “लहान क्रिकेट स्टेडियम निर्माणले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने मात्र नभई, राष्ट्रिय तथा क्षेत्रीय स्तरका प्रतियोगिता आयोजना गर्न पनि सहयोग पुर्‍याउनेछ।” निर्माण हुने स्टेडियममा आधुनिक मापदण्डअनुसार पिच तथा अन्य आवश्यक संरचना समावेश गरिने जनाइएको छ। यसले लहान क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाहरूले पनि स्टेडियम निर्माणप्रति खुशी व्यक्त गर्दै यसले क्षेत्रको पहिचान बढाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार, यस किसिमका परियोजनाले युवाहरूलाई लागुऔषधको कुलतमा लागेका हरुलाइ सकारात्मक गतिविधिमा संलग्न गराउने र सामाजिक विकासमा टेवा पुर्‍याउनेछ।

नगरपालिका र निर्माण कम्पनीबीच भएको ठेक्का सम्झौताअनुसार यो रंगशाला २०८३ चैत मसान्त भित्रै निर्माण भइसक्नुपर्नेछ ।उक्त स्टेडियमले भविष्यमा लहानलाई खेलकुद केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *