सप्तरीका खडक नगरपालिकामा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२०८२ भव्यतापूर्वक सम्पन्न

लहान, मंसिर ४ । “मेरो दिन, मेरो अधिकार–बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित नगरस्तरिय बालबालिका सम्मेलन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२०८२ को अवसरमा खडक नगरपालिकाले सोमवार मंसिर ४ गते कल्याणपुरस्थित नगर सभाहलमा नगरस्तरिय बालबालिका सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेको छ। “मेरो दिन, मेरो अधिकार—बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, बालबालिका, सुरक्षा निकाय, शिक्षक, अधिकारकर्मी तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।

सेभ द चिल्ड्रेनको सहयोग र सबल नेपालको समन्वयमा खडक नगरपालिकाद्वारा आयोजना गरिएको सम्मेलन बाल अधिकार प्रवर्द्धन, संरक्षण तथा बालमैत्री स्थानीय शासन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले गरिएको हो।कार्यक्रम नगर बाल क्लब सञ्जालका अध्यक्ष शिव शंकर मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। विशिष्ट अतिथिमा खडक नगरपालिकाकी उप–प्रमुख रिता कुमारी चौधरी उपस्थित रहेको थियो। साथै कार्यक्रमका अन्य अतिथिहरूमा खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय मण्डल, बालबालिका शाखाकी सुशिला कुमारी चौधरी, बालकल्याण तथा अधिकारकर्मी अनिता कुमारी साह, ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्र.स.नि. प्रफुल भुर्तेल तथा सञ्चारकर्मीहरू सहभागी रहेका थिए।

कार्यक्रमको एक महत्वपूर्ण आकर्षण ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्र.स.नि. प्रफुल भुर्तेलको प्रस्तुति थियो। उहाँले लागूऔषधबाट बालबालिकामा पर्न सक्ने घातक असर, कानुनी सजाय र अभिभावक तथा समुदायको भूमिकाबारे विस्तृत जनचेतना प्रदान गर्नुभएको थियो। उहाँको प्रस्तुतिले सहभागी बालबालिकामध्ये सकारात्मक प्रभाव परेको सहभागीले बताएका छन्।
बालबालिकाले आफ्ना हक–अधिकार, प्रतिभा तथा सिर्जनशीलता अभिव्यक्त गर्ने विभिन्न सत्रहरू पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी बालबालिकाले बालमैत्री स्थानीय सरकार निर्माणका लागि सुझाव पनि प्रस्तुत गरे।

कार्यक्रमले खडक नगरपालिका भित्र बाल अधिकार संरक्षण तथा प्रवर्द्धनका एजेन्डालाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ। बालबालिकामा लगानी गर्नु नै सुरक्षित र समृद्ध भविष्य निर्माणमा महत्वपूर्ण आधार बन्ने संदेशसहित कार्यक्रम समापन गरिएको थियो।
