गैरेल सहित नेकपाको पूरै कमिटी कांग्रेसमा प्रवेश

लहान माघ १३ । लहान नगरपालिका -१० मा नेकपा परित्याग गर्दै कृष्णहरि गैरेलको नेतृत्वमा नेकपाको पुरै कमिटी नेपाली कांग्रेसमा प्रवेश गरेको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रममा गैरेलसहित दर्जनौँ नेता–कार्यकर्ता कांग्रेसमा औपचारिक रूपमा समाहित भएका हुन्।

कृष्णहरी गैरेल नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । उनी २०७४ सालमा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

एमाले पार्टी विभाजनपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी माधव नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले २६१ मत प्राप्त गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा सिरहा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार रामसुन्दर चौधरीलगायतका नेताहरूले नवप्रवेशीहरूलाई फुलमाला र खादा ओढाएर स्वागत गरे ।

कांग्रेस बुथ सभापति अम्बराज मिश्रको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सभापति महेश चौधरी, नगर सभापति संजय यादव, महाधिवेशन प्रतिनिधि अरुण केसी, क्षेत्रीय सचिव शरणदेव यादव, सह–सचिव महेश मण्डल तथा लहान नगरपालिका–१० का वडा अध्यक्ष मनोज कोईराला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेसको संगठन विस्तारमा नवप्रवेशीहरूको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै आगामी निर्वाचन र संगठन सुदृढीकरणमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
