केन्द्रिय अध्यक्ष कुलमान घिसिङ लहानमा आउँदै

लहान, २१ माघ। उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दिउँसो २ बजे लहान आउने कार्यक्रम तय भएको छ। पार्टी स्रोतका अनुसार उहाँको लहान भ्रमणका क्रममा विभिन्न भेटघाट तथा धार्मिक एवं संगठनात्मक कार्यक्रमहरू तय गरिएको छ।

लहान आगमनपछि अध्यक्ष घिसिङले जेन्जी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका लहान–१५ का विजय चौधरीका आफन्तजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यसपछि उहाँले माता राजदेवी मन्दिरमा पुगेर दर्शन गर्ने र स्थानीय कार्यकर्ता तथा मतदातासँग भलाकुसारी गर्ने तालिका रहेको छ।

उज्यालो नेपाल पार्टी सिरहा क्षेत्र नं. १ की उम्मेदवार तारा कुमारी चौधरीका अनुसार अध्यक्ष घिसिङको उपस्थितिले क्षेत्रीय संगठनलाई थप ऊर्जा मिल्ने विश्वास लिइएको छ।

लहान भ्रमणका क्रममा संगठन सुदृढीकरणका लागि विशेष बैठकसमेत आयोजना गरिनेछ। सो बैठकमा वडा–नगर कमिटिमा आगामी चुनावी गतिविधिबारे रणनीति तय गरिने कमिटीले जानकारी दिएको छ। अध्यक्ष घिसिङको आगमनलाई लिएर पार्टी कार्यकर्ताहरू उत्साहित देखिएका छन् र उदघाटन र भेटघाट कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन तयारी तीव्र पारिएको छ। उहाँले कार्यकर्ता परिचालन र जनसम्पर्क विस्तारलाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको बताइन्।

यसैगरी, कार्यकर्ता भेटघाटसँगै लहान–३ स्थित पार्टीको जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रम समेत राखिएको अध्यक्ष घिसिङको निजी सचिवालयले जनाएको छ। पार्टीले भ्रमण कार्यक्रमलाई लक्षित गर्दै आवश्यक तयारी तीव्र बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *