लहानमा इन्टर स्कुल डान्स तथा सिङ्गिङ प्रतियोगिता २०८२ सिजन -१ सुरु

लहान, ३ जेठ २०८२ — सिरहा जिल्लाको लहानमा पहिलोपटक आयोजना गरिएको ‘इन्टर स्कुल डान्स तथा सिङ्गिङ प्रतियोगिता २०८२ सिजन–१’ को अडिसन बिद्या मन्दिर बोर्डिङ स्कुलबाट सुरु भएको छ।
आयोजक प्याप्सन सिरहा शाखा तथा संयुक्त मिथिला कलाकार नेपालको अनुसार असार २ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यहाँका एक सय १५ वटा विद्यालयका विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

विधाको निर्णायकका रूपमा श्याम सिंह, ललित चौधरी र सूर्य नारायण चौधरी रहेका छन् । उता, गायन विधामा निर्णायकक भूमिका कुशेश्वर साह, सरोर सन्त, र मोनालिसा उपाध्यायले निर्वाह गर्दै छन् ।

स्थानीय स्तरमा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको यो प्रतियोगिता लहान नगर क्षेत्रका विभिन्न विद्यालयहरू माझ लोकप्रिय बन्दै गएको छ।
प्रतियोगितामा नगर क्षेत्रका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू सहभागी भएका छन्। अडिसन चरण लहानका विभिन्न विद्यालयहरूमा सञ्चालित भइरहेको छ। आयोजकका अनुसार प्रतियोगिता डान्स र सिङ्गिङ गरी राउण्ड अनुसार छनौट हुनेछ भने उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई आकर्षक पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिनेछ।


कार्यक्रम संयोजकले भने, “विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्न र उनीहरूको लुकेका क्षमता उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो।” अडिसन चरण सकिएपछि छनोट भएका विद्यार्थीहरूलाई फाइनल राउण्डमा प्रतिस्पर्धा गराइनेछ।

स्थानीय शिक्षक, अभिभावक र सांगीतिक क्षेत्रका व्यक्तिहरूले यस्तो प्रकारको कार्यक्रम विद्यार्थीको बहुप्रतिभा विकासमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *