सखुवानन्कारकट्टीमा कृषि शाखामा तालाबन्दी, खाद्य मल डिलर सिफारिसमा आलटाल गरेको आरोप

३ गते भाद्र लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमिटेडलाई मलखाध र रासायनिक मल वितरण डिलरको लागि सिफारिस गर्नुपर्ने मागलाई पालिकाले बेवास्ता गरेपछि वडा अध्यक्ष संजय यादवको नेतृत्वमा कृषि शाखामा तालाबन्दी गरिएको छ।


वडा अध्यक्ष यादवका अनुसार सहकारी संस्थाले आवश्यक सबै कागजातसहित पालिकामा निवेदन दिएको भए पनि शुक्रबारदेखि निरन्तर धाउँदा विभिन्न बहाना देखाउँदै कृषि शाखाले सिफारिस दिन आलटाल गर्दै आएको छ। “हामी किसानलाई सहज ढंगले मल वितरण गर्न सहकारीमार्फत डिलर दर्ता प्रक्रिया अघि बढाउन चाहन्छौं, तर पालिकाले अनावश्यक अड्चन सिर्जना गरेपछि तालाबन्दी गर्नुको विकल्प रहेन,” उनले बताए।


सहकारी संस्थाले कृषि सामग्री कम्पनी लिमिटेड लहान र साल्ट ट्रेडिङ लिमिटेडसँग आधिकारिक रुपमा डिलरशिप लिनका लागि पालिकाको सिफारिस चाहिने भएकोले निवेदन पेश गरेको हो। तर पालिकाबाट ढिलासुस्ती र असहयोगी व्यवहार भएको कारण किसान र सहकारी प्रतिनिधिहरू आक्रोशित भएका छन्।
स्थानीय किसानहरूले समेत पालिकाले जनताको आवश्यकता विपरीत कार्य गरेको भन्दै चर्को विरोध जनाएका छन्। “धान, गहुँ, तरकारी खेतीका लागि मल अत्यावश्यक हुन्छ, तर सिफारिसमै ढिलाइ गर्दा हामी किसानलाई सिधा असर पर्छ,” किसानहरूले बताएका छन्।


यस विषयमा गाउँपालिकाले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर स्थानीयहरूका अनुसार पालिकाले सिफारिस प्रक्रियालाई राजनीतिक र व्यक्तिगत स्वार्थसँग जोडेर हतोत्साहित गर्ने प्रयास भइरहेको छ।
तालाबन्दी जारी रहँदा गाउँपालिकाको कृषि शाखाको कामकाज प्रभावित भएको छ भने किसानहरू आवश्यक मल आपूर्ति र डिलरशिप प्रक्रियामा सहजता दिलाउन तत्काल समाधान खोज्न माग गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *